सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन ७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना दिएका छन् । शुभकामना दिंदै राष्ट्रपति पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा राष्ट्रपतिले उल्लेख गरेका छन्, ‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ ।’
लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने बिर्सन नहुनेमा राष्ट्रपति पौडेलले जोड दिएका छन् ।
यस्तै उपराष्ट्रपति यादवले शुभकामना व्यक्त गर्दै लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताएका छन् ।
उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।