प्रधानमन्त्री प्रचण्डले पाए तेस्रो पटक विश्वासको मत, १५७ सांसदको समर्थन

बुधबार, फागुन ३०, २०८०

फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनधिसभाबाट विश्वासको मत पाएका छन्। गत फागुन २१ गते गठबन्धन फेरेर नेकपा एमालेसँग मिसिएपछि नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदा प्रचण्डले विश्वासको मत लिनुपरेको हो।प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मतविभाजनबाट विश्वासको मतको छिनोफानो गरेका थिए।

जसअनुसार प्रतिनिधिसभामा बुधबार उपस्थित २६८ मध्ये प्रचण्डको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको छ। मत दिन्न भन्ने पक्षमा १ मत खसेको सभामुख देवराज घिमिरेले घोषणा गरे। यस पटक प्रचण्डको पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी उभिए। 

त्यस्तै डा. अमरेश सिंह, योगेन्द्र मण्डलसहितको मत पनि उनले पाएका छन्। प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० र नागरिक उन्मुक्तिका ४ सांसद छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। यसअघि उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।

प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक थियो। तर त्यसभन्दा बढी मत उनलाई मिलेको हो।  त्यतिबेला संसद्‌मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ।

त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए।

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्