विश्व प्रेस स्वतन्त्रता दिवस

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका : राष्ट्रपति

शुक्रबार, वैशाख २१, २०८१

बैशाख २१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

राष्ट्रपतिको शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको उल्लेख छ। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो। नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको छ,’ उनको सन्देशमा भनिएको छ।

‘प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुन्छ । यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्नेछ भन्ने मलाई लाग्दछ । यो समग्र समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष पनि हो भन्ने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भनेका छन्।

प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने चर्चा गर्दै उनले त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी भएको बताएका छन्। राष्ट्रपतिले नेपाली प्रेसको यही महत्त्वपूर्ण भूमिकाका कारण संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको चर्चा गरेका छन्

।सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्वाध रूपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो भन्दै उनले बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरूमाथि सबै नागरिकको सहज पहुँच स्थापित गर्ने र सञ्चारमाध्यमबाट सबै वर्ग–समुदायको आवाज मुखरित हुने बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार