सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
प्रचण्ड गर्मिले जताततै सताइरहेको छ। जसरी विकृत राजनीतिले यो सुन्दर र शान्त राष्ट्र लाई तताइरहेको छ सताइरहेको छ। भ्रष्ट आचरण र व्यवहारका कारण जसरी देशको राजनीति दुशित भएको छ ठ्याक्कै त्यस्तै जलवायु परिवर्तनको कारण वातावरण प्रदुशीत भएको छ।
बढ्दो औद्योगिकरण तथा तिव्र शहरीकरणले हरित गृह ग्याँसको बढ्दो उत्सर्जन गराएको छ जसको असर जलवायु मा देखिरहेको छ भने त्यसको प्रत्यक्ष मारमा सजिव प्राणीहरु परिरहेका छन् । अहिले विश्वव्यापी रूपमा वृद्धि भैरहेको तापक्रमको कारण थुप्रै मानिसहरूले मृत्युवरण गर्नुपर्ने बाध्यता छ।
आज जलवायु परिवर्तनको कारण ,सेताम्मे दन्तलहर जस्तै देखिने हिमालहरु नांगा डाँडामा परिवर्तन हुँदै गएका छन् । हिमतालहरु विस्फोटनको खतरामा छन् । कृषि उत्पादनमा कमि ,भोकमरी र कुपोषणमा वृद्धि हुने खतरापुर्ण अवस्था देखिएको छ। मौसममा प्रतिकुल असर,इकोसिस्टममा असन्तुलन ,मानवीय स्वास्थ्यमा प्रतिकुल असर लगायत थुप्रै जोखिमजन्य असरहरु प्रत्यक्ष रूपमा देखिरहेका छन् ।
आज विकसित देशमा भएको औधोगिकरण तथा तिव्र शहरीकरण ,आणविक विष्फोटन ,हातहतियारहरुको व्यापक प्रयोग ,सवारी साधनहरुको व्यापक प्रयोग आदि कारणहरुले गर्दा कार्बनडाइअक्साइड ,मिथेन ,क्लोरोफ्लोरो कार्बन ,नाइट्रस अक्साइड जस्ता ग्याँसको बढी उत्सर्जनले विश्वव्यापी उष्णता भइ जलवायु परिवर्तन भैरहेको छ। जसको कारण ले न समयमै पानी पर्छ न चाहेअनुसार मौसम सफा रहन्छ ।
गाउँघर तिर किसानहरुलाई आफ्नै किसिमको चटारो छ।यो समय मानो खाएर मुरि उब्जाउने समय हो। हातमा कोदाली , काधमा हलो राखी देउराली डाडाहरुमा उकालीओराली गर्दै आजभोलिका दिनहरु किसानका निकै रमाइलो र आनन्दपुर्वक बितिरहेका हुन्छन् ।आहा कति रमाइला हुन्छन् ती दिनहरु , असिनापसिना गर्दै गरिरहेको काम को दुखाइ पनि चटक्कै भुल्न सकिने , त्यो सामर्थ्य पैदा हुन्छ , जब देउराली डाडाहरुमा असारे भाका घन्किन्छन।चकटी जत्रा खेतका फोकटाहरु र निधारका धर्साहरु जस्ता खेतका गह्राहरु , जहाँ माटो मात्रै हुँदैन ढुङ्गाहरु पनि हुन्छन् र खन्दा जोत्दा कोदालीको धार बङ्गगाइदिन्छन , हलोको फालीहरु उतारिदिन्छन ।
यस्तो ठाउँहरुमा पाखुरी बजाजेर बज्जर बाझो जमिन फुटाइ सुनौला धानका बालाहरु लहलह झुलाउने सपनामा सबै दुख पिडा किसानले भुलिरहेको हुन्छ। आफ्नै लयमा किसान घामपानी नभनी निरन्तर खेतको काममा जुटिरहेको हुन्छ।घरदेखी निकै टाढा भएका गाडकुले खेतहरु हुन् या त टारी खेतहरु हुन् किसानहरु जब बैशाख सुरु हुन्छ तब बिउँ राख्ने काम सुरु गर्छन् ।बैशाख देखि सुरु भएको खेतको काम मंसिर महिनासम्म चल्छ।जब भकारीमा धान भित्र्याइन्छ , र परालको टौवाहरु बनाइन्छ अनि मात्रै खेतको काम सकिन्छ।यति काम गरेर मात्रै भात तयार हुँदैन , त्यसलाई फेरि ढिकीमा कुटेर , फलेर केलाइसकेपछी मात्रै पकाउनलाई तयार हुन्छ।
मलाई विशेष गरि सम्झना छ त्यो देउराली डाडाको जहाँ मैले लाखौं पटक उकालीओराली गरेको छु।गाइबाख्रा चराउन जादा होस् या खेतमा काम गर्न जादाखेरी होस या घाँस काटन जादा त्यहीँ देउरालीमा झरेर र उक्लिएर ओहोरदोहोर गर्नुपर्छ।आज म जहाँ छु यहाँ देखि धेरै टाढा छ देउराली , जहाँ ७७ सालमा आजकै दिन टोटेखोला को रोपाइँ सकेर म काधमा हलो बोकेर देउरालीको उकालो चडिरहेको थिए।सम्झना ताजा छ आज जस्तै लाग्छ तर समय चार वर्ष घर्किसकेछ।त्यो दिनदेखी यो दिनसम्म आइपुग्दा समयले थुप्रै कुराहरू सिकाएर गएको छ।समय र परिस्थिति सधैं एकै हुँदैन , कतिखेर कहाँ के हुन्छ पत्तै हुँदैन ।कल्पनै नगरेका घटनाहरु भैदिन्छन।मानव हुनुको नाताले , कहि केही नहोस् सबै कुराहरु राम्रो होस् र भैदियोस भन्ने लाग्छ तर आफुले सोचेजस्तो कहाँ हुन्छ र नसोचेका घटनाक्रमहरु को संगालो त रैछ आखिर जीवन ।वर्खामासको सिजन त्यसमा पनि असार निकै चटारो पर्ने गर्छ किसानहरुलाई ।प्रकृतिले साथ दियो भने किसानले सोचेअनुरुप कै काम गर्न पाउछ यदि प्रकृतिले पनि ठग्यो भने किसानलाई निकै पिडाबोध हुनेगर्छ।खडेरी पर्यो भने पनि किसानलाई चुनौती , अतिवर्षा भयो भने पनि चुनौती यी र यस्तै खालका कयौं भिमकाय चुनौतीहरु संग पौठेजोरी गर्दै जीवन निर्वाहका लागि किसान संघर्षको मैदानमा उत्रिएको हुन्छ।
निकै मेहनत र दुख गर्दै किसानले खेतिकिसानी गरिरहेको हुन्छ ।यसमा हाम्रो देशमा रहेको राज्यले पनि ठगिरहेको छ भने कहिलेकाही प्रकृतिले पनि ठगिदिन्छ। कहिले बाढिपहिरो ले नोक्सानी गरिदिन्छ त कहिले असिनाले त कहिले किराहरुले किसान लाई नै ठगिरहेको हुन्छ।गर्मी सिजन त्यसमा दिउँसको टन्टलापुर घाम र मुसलधारे पानी संग कुस्ती खेल्दै किसानले खेतबारीमा संघर्ष गरिरहेको हुन्छ।बिहान झिसमिजे उज्यालो नहुदै खाना र अर्नि बोकेर खेतको काममा दौडिनुपर्ने किसानको जिन्दगी ।खेत जोतखन गरि ठिक्क बनाइसक्दा पनि कहिले पानी नपरेर आकाश तिर हेरिरहनुपर्ने बाध्यता हुन्छ त कहिले बाढी आएर खेतै बगाउला भन्ने त्रास हुन्छ।
हाम्रो देशको धेरै प्रतिशत जनशक्ति कृषि पेशामा आवद्ध छ।तर पनि खाध्यान्न मा आत्मनिर्भर बन्न सकिरहेको छैन ।अन्य देशमा ५/७ प्रतिशत कृषिपेसामा आबद्द जनशक्तिले समग्र देशको खाध्यान्न समस्या समाधान गरिरहेका हुन्छन् ।हाम्रो देशमा भने खाध्यान्न आयात गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था छ।धेरै प्रतिशत मान्छेहरु कृषि पेशा मै छन् तर आयात गर्नुपर्ने अवस्था छ अनि कसरी बनोस् हाम्रो देश समृद्धरु हाम्रो देशको कृषि प्रणाली निर्वाहमुखी छ , उत्पादनमुखी छैन ।जसले गर्दा वर्षभरी दुख गर्दा पनि खान पुग्दैन ।आधुनिक कृषि प्रणाली छैन ।जहाँ मकै धेरै फल्ने ठाउँ हो त्यहाँ धान लगाइन्छ , जहाँ धान फल्ने ठाउँ हो त्यहाँ मकै लगाइन्छ , जहाँ खेतीयोग्य जमीन हो त्यहाँ वस्ती बसाइन्छ जहाँ खेती हुँदैन त्यहाँ खेती गरिन्छ अनि कृषिमा कसरी उकालो लागोस हाम्रो देश ।कृषि पढेलेखेका हरुले कृषि गर्नुहुदैन भन्ने मानसिकता हाम्रो देशका शिक्षित नागरिकहरुमा छ।अलिकति पढेलेखेका बाहिर जाने गर्छन् । परम्परागत कृषिलाई बैज्ञानिक कृषिप्रणालीमा रुपान्तरण गर्न सक्ने म्यानपावर को कमि छ।कृषि क्षेत्रको नेतृत्व गर्ने कृषिमन्त्री कृषिका नाममा फोटो खिचेर सामाजिक संजालमा हाल्ने बाहेक अरु केही गर्न सक्दैनन।हरि पराजुली जस्ता मान्छेहरु कृषि मन्त्री हुदा अनैतिक ब्यवहार गर्नतिर लागे र मन्त्री पद नै चैट भयो।घनश्याम भुसाल , हरिबोल गजुरेल जस्ता बौद्धिक ब्यक्तित्वहरु कृषि मन्त्री हुदा नि कुनै परिवर्तनको आभास कृषि क्षेत्रमा भएको पाइएन।
यो देशमा संविधान छ नामको मात्रै त्यहीँ संविधानको धारा ५१ को ङ नम्बरमा कृषि र भूमिसुधार सम्बन्धि नीति उल्लेख गरेको छ जसमा निम्न बमोजिमका सुन्दर बुदाहरु राखिएको छ।
१- भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने, २-अनुपस्थित भू(स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चक्लाबन्दी गरि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने , ३- किसानको हक हित संरक्षण र संवर्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भूउपयोग नीतिको अवलम्बन गरि भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण ,औधोगिकीकरण ,विविधीकरण र आधुनिकीकरण गर्ने , ४- भूमिको उत्पादनशीलता ,प्रकृति तथा वातावरणीय सन्तुलन समेतका आधारमा नियमन र व्यवस्थापन गर्दै त्यसको समुचित उपयोग गर्ने , ५- कृषकका लागि कृषि सामाग्री ,कृषि उपजको उचित मुल्य र बजारमा पहुँचको व्यवस्था गर्ने । यति सुन्दर बुदाहरु खाली संविधानको खोस्टोमा र गफमा सिमित भएको छ ,व्यवहारत कार्यनयन को पाटो शुन्य छ। प्रदेश स्तरका कृषि मन्त्रीहरुले पनि कृषि क्षेत्रमा आमूल परिवर्तन हुने खालका योजनाहरु ल्याउन सकेनन् ।कृषि क्षेत्रको अध्यन , अनुसन्धानको प्रक्रियालाई जोड दिदै माटो अनुकुलको कृषि गर्ने योजना निर्माण गरि लागू गर्नु पर्दछ।
प्रिय देउराली तिमीलाई सम्झिएर तिम्रो बारेमा लेख्दै गर्दा अरु कुरा पनि खोतल्न पुगेछु।देउराली चार साल अघि आजको दिन म तिम्रै सामीप्यतामा थिए।अहिले परिस्थिति त्यस्तो रहेन।म तिमिभन्दा धेरै टाढा छु तर पनि धेरै मिस गरिरहेको छु।देउराली तिमी हाम्रो खेतको मास्थिर ठिङ्ग उभिएका छौ।खेतमा रोपाइँ हुँदै गर्दा जब दिन ढल्किन्छ तब अर्नि कतिखेर आउँछ भनेर तिमी भएकै तिर खेतालाहरुले हेरिरहन्छ।जब अर्नि लिएर घरमुली तिम्रै सामीप्य बाट झर्नुहुन्छ तब खेतालाहरुको मुहारमा उज्यालो कान्तिले छाउछ।जब खेतको काम सकिन्छ अनि तिम्रै पाउमा छुदै मान्छेहरु आफ्नो घरतिर लाग्छन् ।किसानहरु घरतिर उक्लिदै गर्दा तिमी भएकै थुम्कोमा बसि जब असारे भाका घन्काउछन तब वातावरण संगीतमय बन्छ, सधैंभरी तिम्रै सामीप्यतामा बसिरहु जस्तो लाग्छ।देउराली तिम्रो सामीप्यमा नभएको धेरै भयो ।समय र परिस्थिति अनुकुल भैदिएछ भने अब तिम्रो हाम्रो भेट कात्तिक ,मंसिरमा हुनेछ नत्र यत्तिकै ।प्रिय देउराली अहिलेलाई यत्ती ,धेरै माया अनि मिठो सम्झना।