सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
असार २०, सुर्खेत । अखिल नेपाल चेस संघको आयोजनामा भएको कर्णाली प्रदेशस्तरीय छनोट प्रतियोगीतामा विरोधविक्रम जिसी प्रथम भएका छन् । ५० वर्षमाथिको भेट्रान चेस च्याम्पियन प्रतियोगीतामा जिसी प्रथम भएका हुन् । यस्तै राजेन्द्र गौतम द्धितीय, प्रेम सुमै तृतीय, सुन्दर कुँवर चौथो र निरक रावल पाँचौं भए ।
कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले आगामी मंसिरमा कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा चेस खेललाई समावेश गर्ने प्रतिवद्धता जनाए । उनले कर्णालीको खेल क्षेत्रको विकासका लागि सबैको साथ र सहयोगको खाँचो औल्याए । ‘कर्णालीमा खेल पूर्वाधार र खेलाडीको क्षमता बृद्धिका लागि सरकार मात्रै होइन्, यहाँका सबै राजनीतिक दलहरु पनि एकतावद्ध छौं,’ उनले भने, ‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगीतालाई भब्य बनाउनका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण र खेलाडीहरुको बृद्धि विकासका लागि काम गरिरहेको छ ।’
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले आगामी मंसिरमा हुने राष्ट्रिय प्रतियोगीतामा कर्णालीले दोहोरो अंकको मेडल प्राप्त गर्ने लक्ष्य राखेको बताए । ‘चेस खेलमा पनि पदक प्राप्त गर्ने अपेक्षा हामीले गरेका छौं,’ उनले भने, ‘तपाईँहरु सोही अनुसार तयारीमा लाग्नुहोस् ।’ उनले चेस खेल दिमागी खेल भएकाले खेलाडी आफैले यसमा तयारी गर्नुपर्ने बताए ।
बुद्धिचाल महासंघ कर्णाली प्रदेशका अध्यक्ष राजेन्द्र गौतमले चेस खेलप्रति कर्णालीबासीको आकर्षण बढ्दै गएको बताए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग र कर्णाली प्रदेश बुद्धिचाल संघ र जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा भएको कार्यक्रमको अध्यक्षता अखिल नेपाल चेस संघ कर्णाली प्रदेशका संयोजक हेमा खड्काले गरेकी थिइन् ।