नलगाडको बैरीतालमा अबैध ढंगले बालुवा निकाल्दा स्थानीयको घर र जग्गा जोखिममा

वडाबाट सिफारिस सहित रसिद काटेकोे बालुवा निकाल्नेहरुको दाबी
शनिबार, साउन १२, २०८१

साउन १२, जाजरकोट । नलगाड नगरपालिकामा अबैध ढंगले बालुवा निकाल्दा स्थानीयको घर र जग्गा जोखिममा परेको छ । नलगाड नगरपालिका १ चिसापानी बैरीतालमा दुई वटा खानी लगाएर दैनिक अबैध तरिकाले स्क्यावेटर मार्फत भेरी नदीबाट बालुवा निकाल्दा स्थानीयबासीको घर र जग्गा जोखिममा परेको हो । 

अर्थोपार्जन गर्ने नाममा सिङ्गै गाउँलाई धरापमा राखेर अबैध तरिकाले बालुवाको खानी लगाएर विक्रि गर्न थालेको थानीय धनीकला थापाले जानकारी दिइन । अबैध तरिकाले स्क्यावेटर प्रयोग गरेर भेरी नदीबाट बालुवा तान्नेमा चिउरीकै वीरेन्द्र चनारा, मान बहादुर घेत्माल, सत्यदेव चनारा, बलजीत रावत, राजु घेत्माल, पठवीर चनारा, मनोज चनारा, पर्से घेत्माल रहेको थापाले बताइन । धनीकला थापाले भनिन– ‘भुकम्पले घर भत्किसके, सरकारले दिएको पैसाले नदीको छेउछाउमा अस्थायी आवास बनाएका छौं, बर्षायाममा यसरी स्क्यावेटर लगाएर नदीबाट बालुवा तान्ने गरेपछि कुन दिन बाढि आएर अस्थायी आवास सहित हामीलाई पनि बगाएर लिने हो भन्ने चिन्ताले राति निद्रा पनि लाग्दैन ।’ 

विगत तीन बर्ष पहिलादेखि निरन्तर रुपमा स्क्यावेटरले नदीबाट बालुवा तान्ने गरेपछि नदी किनारको जमिन झन कम्जोर बन्दै गएको पीडित भक्त बहादुर सुनारले बताए । सुनारले भने्– दुई चार बर्ष देखि खनि रहेका थिए, नगरभन्दा भन्दै राती आएर निकाल्न लागे, फेरि नगरभन्दा वडाबाट सिफारिस ल्याएको, रसिद समेत काटेको भनेपछि नगरपालिकामा गएर मेयर सँग भेट भयो त्यति बसाई भएन वडाध्यक्ष पनि त्यही गए, उनले भने बरु तपाईको माग के हो भन्नुहोस् उनीहरुबाट एक डेड लाखको रसिद काट्ने कुरा भएको छ भनेर अर्को एकजना मान्छे त्यही गएका थिए म सँग पठाई दिए ।’

नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले वडाध्यक्षलाई बालुवा निकाल्नेबाट केही कर लिएर व्यवस्थित गर्ने जिम्मा दिएको बताए । साथै नलगाड नगरपालिका वडा नं १ का वडाध्यक्ष धर्मेन्द्र महर भने नगर प्रमुखले भनेको कुरा अस्वीकार गर्छन । यो बिषय कानुनी रुपमा क्षेत्र अधिकार भित्र नपर्ने भएपछि आफुले यो बारेमा हात नहालेको वडाध्यक्ष महरको दाबी छ । नगर प्रमुखले पनि वडाध्यक्षलाई केही राजस्व लिएर व्यवस्थित गर्नु भनेको बताएका छन भने नदीबाट बालुवा निकाली रहेकाले पनि वडाले सिफारिस सहित रसिद काटेको भन्दा पनि वडाध्यक्ष महर भने रकम नलिएको भनेर नाइनास्ती गरिरहेका छन । 

कानुनी प्रक्रिया पुरा नगरी कुनै पनि नदीजन्य पदार्थको उत्खनन् गर्न पाइदैन । गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको संकलन तथा उपयोग गर्न वातवरणीय प्रभाव मुल्याङ्कण प्रतिवेदन (इआइए) गर्नुको साथै सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।नदीजन्य गिट्टी, बालुवा संकलन, विक्रिविरण तथा उपयोग सम्बन्धि हालसम्म नलगाड नगरपालिकाले कुनै पनि ऐन, निमावली, निर्देशिका तथा मापदण्ड जारी गरेको छैन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी पनि कानुनी प्रक्रिया पुरा नगरी नदीबाट बालुवा निकाल्ने र अनुमति दिने कुरा कानुन बिपरीत हुने बताउछन । यस्तै कानूनी प्रक्रिया पुरा नगरी नदीबाट बालुवा निकाल्नु गैरकानुनी भएकोले तुरुन्त रोक्ने जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । अहिले पनि बालुवा निकालेको भए स्क्यावेटर लगायत सबै कब्जामा लिई जिल्ला सदरमुकाममा ल्याउने प्रहरी प्रमुख पाण्डेले लालआवाजलाई बताए । 

आधा दर्जन भन्दा बढि मान्छेको संलग्नतामा दुई ठाउँमा खानी लगाएर नदीबाट निकालिएको बालुवालाई उनीहरुले सडक, खानेपानी, सिंचाई, भवन जस्ता निर्माण परियोजनामा विक्रि गर्ने गरेका छन् । प्रतिघनमिटर ३ देखि ४ हजार मुल्यमा विक्रिवितरण गर्दै आएको बालुवालाई नलगाड नगरपालिकाको लहँ, थाप्ला, भारगाउँ डाडाँगाउँ, करुवा, चाउलेचौर, कैना, दल्ली, कालिमाटी, छेप्का, बारेकोट गाउँपालिका, रुकुमपश्चिमको आठवीसकोट नगरपालिकाको राँडीसम्म विक्रि वितरण गर्दै आएका छन् । 

उनीहरुले बालुवा निकालेपछि भेरी नदीको बहाव अनियन्त्रित हुन थालेको छ । भेरी नदीबाट बालुवा निकाल्ने कार्यले सिङ्गै चिउरी गाउँलाई जोखिम बनाइ रहेको छ भने चिसापानी बैरीतालका धनवीर चनारा, कृष्ण महर, लाल बहादुर महर, चैति कमेनी, धनिकला थापा, नारायण खत्री, भक्त बहादुर सुनार, बादल घर्ती, कर्ण घर्ती, ऐवान चनारा, दलजित घर्ती, देवी विटालुको जग्गामा प्रत्यक्ष हानी गरेको छ । 

सहमति बिनानै यति धेरैको जग्गामा स्क्यावेटर घुमाउने, बालुवा ढुवानी गर्न प्रयोग गरिने ट्याक्टर, टिप्परहरु कुदाउने गरेको देवी विटालुले जानकारी दिएकी छन् । स्क्यावेटरले नियमित रुपमा नदीको बालुवा तानेपछि भेरी नदीको छालले हाम्रो जग्गालाई बगाएर लिने गरेको छ देवीले भनिन्–‘भेरी नदीको छेउमा रहेको जग्गामा अस्थायी आबास बनाएका छौं, नदीले बगाउछ कि भनेर चिन्तै चिन्तामा दिन विताउने गरेका छौं ।’ उक्त नदीजन्य पदार्थको उत्खनन् कार्यले जाजरकोट जिल्लाको मात्र नभएर रुकुमपश्चिमको भु–भागलाई पनि क्षेति गरेको चैति कमेनीको भनाइ रहेको छ । अहिले प्रहरीले बालुवा निकाल्ने काम रोकेको भएपनि राती आएर निकाल्ने गरेको स्थानीय बताउछन । 452512281_1660039204821473_2638053385371256663_n-1722087854.jpg
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार