सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
भदौ ८ सुर्खेत । साइनिङ अस्पताल आइ एन एफ सुर्खेतले प्रसव फिस्टुला बारे प्रदेश स्तरीय समन्वय तथा समीक्षा बैठक प्रदेश अस्पताल सुर्खेतमा सम्पन्न गर्यो। प्रदेश अस्पताल विकास समिति सुर्खेतका अध्यक्ष प्रेम बहादुर घलेको अध्यक्षतामा शकुन्तला सापकोटाको सञ्चालनमा सञ्चालित समीक्षा बैठकमा साइनिङ अस्पताल सुर्खेतका लेप्रोसी इन्चार्ज उदयनाथ योगीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो l
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का, प्रदेश अस्पताल सुर्खेतका निमित्त प्रमुख डाक्टर गणेश थापा, साइनिङ अस्पताल आइ एन एफ सुर्खेतका प्रमुख ललित बहादुर सारु, डाक्टर सुबेच्छा, मान कुमारी गुरुङ, विनोद बस्नेत, मदन केसी, नवराज कडेल, सरला रेग्मी, भूपेन्द्र गिरी आइएनएफका नारायण खड्का, लोकप्रसाद गौतम, कान्ति शर्मा लगायत उक्त कार्यक्रममा विभिन्न विभाग, इकाई तथा शाखाको प्रतिनिधित्व रहेको थियो ।
समीक्षा कार्यक्रममा फिस्टुला सेन्टरका शाखा प्रमुख कान्त प्रसाद सुवेदीले गत वर्षको प्रगति समीक्षा प्रस्तुत गर्नुका साथै आगामी वर्षको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साइनिङ अस्पताल आडएनएफका प्रमुख ललितबहादुर सारुले प्रसव फिस्टुलाका कारण महिलाले भोग्नुपरेको समस्या समाधानका गर्न, समस्या भएका व्यक्तिहरूको पहिचान गर्ने, चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, समस्याग्रस्त व्यक्तिको गृह भेट गर्ने परामर्श गर्ने तथा उनीहरूको निःशुल्क उपचार गर्ने कार्य गरेको जानकारी गराउनु भयो ।
२०३४ सालदेखि सुर्खेतमा कार्य गरिरहेको आईएनएफले स्वास्थ्य सेवा प्रदान तथा सामुदायिक विकासका विभिन्न ११ वटा परियोजना सञ्चालन गरेको छ जसमध्ये फिस्टुला सेन्टर एक परियोजना भएको कुरा बताउनुभयो। आइएनएफ एक गैर सरकारी संस्था भएको र यस संस्थाले प्रदेश सरकार, स्थानीय सरकार र निकायका मार्फेत राज्यले पूरा गर्नुपर्ने दायित्वमा एक सहयोगी निकायको रुपमा कार्य गरेको धारणा व्यक्त गर्दै प्रयोजनाका कार्यक्रम कार्यान्वयनमा स्वास्थ्य निर्देशनालय, प्रदेश अस्पताल, पालिकाहरू, विभिन्न विभाग, इकाई तथा शाखाहरुको साथ र सहयोग समन्वय र सहकार्य रहेकोमा आभार व्यक्त गर्नु भयो।
उक्त कार्यक्रममा आगामी असोजमा सेन्टर प्रदेश अस्पताललाई हस्तान्तरण गर्ने र प्रदेश अस्पतालले अपनत्व ग्रहण गर्दै सहकार्यका अरु कार्यहरु सम्झौता बमोजिम संचालन हुने व्यहोरा अनुरोध गर्नु भयो । स्वास्थ्य निर्देशक डाक्टर रबिन खड्काले फिस्टुला उपचारमा आइएनएफको सहयोगमा संचालित फिस्टुला सेन्टरले पुर्याको सेवा र सहयोगको प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो। प्रसव फिस्टुलाको समस्याबाट नारकीय जीवन बिताउन बाध्य महिलाहरूको उपचार गरी उनीहरूको ओठमा हाँसो ल्याउन सकेकोमा आइएनएफलाई धन्यवाद व्यक्त गर्नुभयो ।
फिस्टुला सेन्टरको कार्यलाई हस्तान्तरणपछि पनि दिगो बनाउन, स्थानीय स्तरमा विषय विज्ञ तयार गर्नुपर्ने र यस कार्यमा सबैको सहयोग आवश्यक रहेको कुरा बताउँदै फिस्टुला मेन्टरको निरन्तरताको लागि आफूले सम्बन्धित निकायमा वकालत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश अस्पताल सुर्खेतका निमित्त निर्देशक डाक्टर गणेश थापाले सेन्टरको निरन्तरताका लागि पैसा ठूलो कुरा होइन, मुख्य कुरा त सोच, चिन्तन र चासो हो भन्नुभयो ।
सरकारवालाहरूको चासो र चिन्तन भयो भने फिस्टुला मेन्टरले निरन्तरता पाउने कुरामा विश्वस्त हुन सकिन्छ भन्ने कुरा बताउँदै यसको निरन्तरतामा कमी नआउने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष तथा प्रदेश अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर घलेले मानवका लागि अभिशापको रूपमा रहेको फिस्टुला रोगको उपचारमा आईएनएफले पु-याएको आर्थिक, प्राविधिक, उपचारात्मक तथा भौतिक सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आइएनएफसँगको सहकार्य, साथ, समन्वय, आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्न अनुरोध गर्दै कार्यक्रमको समापन गर्नुभयो l