सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
२१ भदौ, जाजरकोट । छेडागाड नगरपालिका जाजरकोट भौगौलिक रुपले अति विकट भु भाग भएको नगरपालिका हो । साविकका ६ वटा गाविसको संयोजनबाट निर्माण भएको छेडागाड नगरपालिका जाजरकोट जिल्लामा जनसंख्याको हिसाबले पहिलो स्थानीय तह समेत हो ।
नगरपालिकाको १३ वडा कार्यालय, ६ स्वास्थ्य चौकी, ८ आधारभूत स्वास्थ्य सेवा केन्द्र, १ नगर अस्पताल र १ वटा आयुर्वेद औषधालयबाट सरकारी सेवा प्रदान भैइरहेका छन । ७ वटा वडा कार्यालय, ३ वटा स्वास्थ्य चौकी, ८ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रले आफ्नै पक्की भवन पाइसकेका छन ।त्यस्तै २ वटा वडा कार्यालय, ३ वटा स्वास्थ्य चौकी कच्ची भवन रहेको सूचना अधिकारी देब बहादुर बुढाले जानकारी दिए । बाँकी ४ वटा वडा कार्यालयहरु मध्ये वडा नं १३ को भवन निर्माणको लागि बोलपत्रदातासंग सम्झौता भई निर्माण कार्य शुरु थालिएको छ । भने वडा नं ७, ८ र १२ भवन निर्माणको लागि जग्गा प्राप्तिको लागि नगरपालिका लागिपरेको बुढाले बताएका छन ।
नगरपालिकामा रहेको कार्कीगाउँ आयुर्वेद औषधालयको पक्की भवन आर्थिक बर्ष २०८०/०८१ मा निर्माण सम्पन्न भई उलघाटन गर्ने तयारी भैइरहेको सूचना अधिकारी बुढाले बताए । नगरपालिकाको प्रशासनिक केन्द्रको टुंगो नलाग्दा ढिलाई भएको प्रशासनिक भवन निर्माण कार्य २०७९ कार्तिक ११ गते नगरपालिकाको प्रशासनिक केन्द्र राजपत्रमा प्रकाशित भएसंगै २०८०/०८१ मा बजेट व्यवस्थापन गरी करिब ९ करोड २७ लाख लागतमा नगरपालिकाको भवन निर्माण कार्य धमाधम भैइरहेको छ । यसै आर्थिक बर्षमा सम्पन्न गर्ने गरी बजेट व्यवस्थापन भई तीब्र गतिमा काम भैइरहेको बुढाले बताएका छन । केही प्राविधिक कठिनाईका कारण रोकिएको नगर अस्पतालको भवन निर्माण कार्य पुन थालिएको छ । त्यस्तै धुलो रहित विद्यालय संरचना निर्माणमा समेत नगरपालिका दृढताका साथ लागिपरेको छ ।
आर्थिक बर्ष २०८०/०८१ मा पनि केही विद्यालयहरुका पक्की भवन निर्माण गरेको नगरपालिकाले चालु आर्थिक बर्षमा पक्की विद्यालय भवन तथा बालविकासका भवन, घेराबार तथा शौचालय निर्माणको लागि बार्षिक विकास कार्यक्रममा समावेश गरिएको सूचना अधिकारी बुढाले बताए । त्यस्तै मोर्क चंखिला फलिहाल्ना सडक र चंखिला थलह सडक कालोपत्रेको लागि बोलपत्र आव्हान पश्चात निर्माण कार्य शुरु भएको छ ।नगरपालिका, शाखा, उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्था, सेवा केन्द्र, इकाई तथा प्रहरी चौकीहरु समेत गरी विगतमा ३४/३५ लाख रकम घरभाडा स्वरुप भूक्तानी हुने गरेकोमा चालु आर्थिक बर्ष २०८१/०८२ मा १३ लाख रकम घरभाडा स्वरुप भुक्तानी हुने गरी घरभाडाको सम्झौता भएको छ ।
आगामी आर्थिक बर्ष २०८२/०८३ मा नगरपालिकाको मुख्य प्रशासकीय भवन र १३ नं को वडा कार्यालयको सेवा प्रवाह आफ्नै भवनबाट हुने र घर भाडा स्वरुप बार्षिक रुपमा ५/६ लाख भन्दा बढी रकम भुक्तानी नहुने अपेक्षा नगरपालिकाले लिइएको सूचना अधिकारी बुढाले बताए ।