सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
२७ भदौ, काठमाडौं । मलेसिया पुगेर फर्किएको प्रहरी टोलीले गृहमन्त्री रमेश लेखकसामु सहकारी ठगी प्रकरणका आरोपी जीबी राईलाई नेपाल ल्याउन नसक्नुको कारण ब्रिफिङ गरेको छ ।
मन्त्रालय उच्च स्रोतका अनुसार, केही दिनअघि भएको ब्रिफिङमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित मलेसिया गएका प्रहरी उपरीक्षक (एसपी) सहितका अधिकारी सहभागी थिए । त्यसक्रममा प्रहरीले राईलाई फिर्ता ल्याउन पूर्वगृहमन्त्री रवि लामिछानेकै कारण समस्या भएको जिकिर गरेको स्रोतले बतायो ।
लामिछानेले उपप्रधान एवं गृहमन्त्री हुँदा मलेसियाका गृहमन्त्री सैफुदिन नासुतिन इस्माइलसँग टेलिफोन कुराकानी गरेका थिए । त्यस क्रममा उनले जीबी राईलाई फिर्ता पठाइदिन आग्रह गरेको मन्त्रालयका अधिकारीहरुले सार्वजनिक गरेका थिए ।
‘उहाँहरु बीच के–के कुरा भएको थियो, थाहा भएन’, प्रहरीको भनाइ उदृत गर्दै मन्त्रालय स्रोतले भन्यो, ‘तर, लामिछाने माननीयज्यूले मन्त्री स्तरमा कुरा गरेपछि यो विषय प्रहरीको तहबाट बाहिर पुग्यो भन्ने सन्देश मलेसियाका अधिकारीहरुबाट पाएको नेपाल प्रहरीबाट ब्रिफिङ भएको छ ।’
भदौ दोस्रो साता मलेसिया गएको नेपाल प्रहरीको टोलीले क्वाललाम्पुरमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीहरुसँग भेट गरेको थियो । त्यसक्रममा राईलाई फिर्ता ल्याउने प्रक्रियाबारे कुराकानी समेत भएको थियो ।
प्रहरी अधिकृतहरुले गरेको ब्रिफिङ अनुसार, एनसीबी मलेसियाका अधिकारीहरुले त्यसक्रममा राईको विषय आफूहरुभन्दा माथिल्लो तहमा पुगिसकेको बताएका थिए । ‘मन्त्रीस्तरमा कुरा भइसकेकाले हामीले केही गर्न सक्ने स्थिति छैन’, एनसीबी मलेसियाका अधिकृतहरुलाई उदृत गर्दै स्रोतले भन्यो, ‘त्यही तहबाट मात्रै यो विषय टुंगो लाग्न सक्छ ।’अनलाइनखबर