कविता :-"निष्कर्ष मा"

शनिबार, भदौ २९, २०८१

यस्तो लाग्छ!

यो शहर 

हत्यारा हो।

बलत्कारी हरुको हो।

ईष्र्या,

प्रतिशोध 

र 

अहंकार जन्माउने 

कारखाना हो।

फलामको टाँप बाधेको

बादशाहको 

वेलगाम घोडा हो।

मान्छेको छातीमा कुल्चने

क्रूर र पाखण्डी 

मुर्कट्टाहरुको अखाडा हो।

यो शहर!

संस्कृति बेचेर

पहिचान गुमाएको

हिजडाहरुको बस्ती हो।

इतिहास सांक्षी छ!

मुर्खलाई

धरहराबाट हम्फाल्न लगाएर

हिटलर बनाएको हो।

पागल करार गरेको।

मुर्खलाई!

महामानव उपाधी दिएको।

यो शहर 

कहिले 

श्रीपेच पहिर्याउछ।

कहिले 

श्रीपेच खोलेर

नारायणहिटी भित्र कैद गर्छ।

कहिले 

बलात्कारी जन्माउछ।

र 

भन्छ

रास्ट्रको गहना हो।

कहिले 

निर्मलालाई मार्छ

र 

भन्छ

बलात्कारी, हत्याराको 

खोजी हुँदैछ।

कहिले 

कस्लाई सम्मान गर्छ।

कहिले

बुद्द,भृकुटी र सिताको अपमान गर्छ।

कहिले!

टायर बालेर सडक पोल्छ।

कहिले!

सडक बनाउन 

त्यही टायर बाल्छ।

यो शहर 

छद्मभेषी छ!

कविता बुझ्दैन!

कविलाई चिन्दैन!

रास्ट्रीय गानको संगीतमा

छातीमा हात राखेर

भक्तीभाव देखाउछ।

यो शहर!

मानवताको हत्यारा हो।

शान्तिको अपहरणकारी हो।

विवेक बेच्ने  दलाल हो।

निष्कर्षमा!

यो शहर 

आवारा

लठ्ठू

झल्लू

दास मनोवृत्ति भएका

टोले,झोले 

र 

भूँई मान्छेको

रगत पसिना

खाने हरुको

एकमुष्ट 

चिहान हो।

 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार