संविधान दिवसको अवसरमा छेडागाड नगरपालिकामा सरसफाई कार्यक्रम सम्पन्न

बिहीबार, असोज ३, २०८१

३ असोज, जाजरकोट । सविधान दिवस २०८१ को अवसरमा नगरपालिकाको कार्यालय, ज्योति आ वि मनाघाट, प्रहरी चौकी परिसर तथा मनाघाट बस्तिमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

संविधान दिवसको अवसरमा नगरपालिकाद्धारा आयोजना गरिएको सरसफाई कार्यक्रममा नगरपालिकाको कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयहरुको उपस्थित रहेको नगरपालिकाका सूचना अधिकारी देब बहादुर बुढाले जानकारी दिए ।

उपयुक्त समयमा नगरपालिकाले आयोजना गरेको सरसफाई कार्यक्रमले नागरिकमा सकारात्मक सन्देश दिएको कार्यक्रममा उपस्थित नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य प्रेम बहादुर खत्रीले बताए । सरसफाई कार्यक्रमले नागरिक तथा कर्मचारीहरुमा थप उर्जा जगाएको र नगरपालिकाले कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने नि. प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकायले बताए ।

संविधान दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको सरसफाई कार्यक्रममा सहभागी हुन पाउदा विद्यालयलाई उर्जा मिलेको तथा आगामी दिनमा पनि यस्तै कार्यक्रमको अपेक्षा गरिएको चन्द्र ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक शर्मा बहादुर खत्रीको भनाइ छ ।

आजै साँझ ७ बजे नगरपालिका कार्यालयमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेकोले स्थानीय बासी, व्यवसायी, शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा सुरक्षाकर्मीलाई उपस्थित हुन आग्रह समेत गरिएको सूचना अधिकारी बुढाले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार