सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
१५ असोज, काठमाडौं । सरकारले समयमै ध्यान नदिँदा बाढी, पहिरो र डुवानका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गत शनिबारको बाढी पहिरो र डुवानको समस्यामा सरकारको कामबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । बैठकमा रक्षामन्त्री मानवीर राईलाई पनि बोलाइएको थियो । तर, अधिकांश सांसदले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले विपदका बेला पनि सरकारले नियमित समयमा भन्दा बढी काम नगरेको आरोप लगाए । गृहमन्त्री लेखकले स्रोत साधनले भ्याएसम्म काम गरेको बताएपछि उनले स्रोत साधन कम भए पनि इच्छाशक्ति भएको भए नागरिकको ज्यान जोगाउन सकिने बताए ।
‘भएको स्रोत साधनले यति नै गर्यौं भन्दा हाम्रो स्रोत साधन र क्षमता यति मात्र रहेछ भन्ने अर्थ गयो । हाम्रो सा्रोत साधन र क्षमतामा सीमितता छ, तर असीमित इच्छाशक्ति भएको भए मान्छेको ज्यान जोगाउन सकिन्थ्यो’, उनले भने, ‘मान्छेहरुको बिल्लीपाठ हुँदैनथ्यो, आँखै अगाडि मान्छेलाई खोलाले बगाउने अवस्था हुदैनथ्यो ।’
शनिबार बिहान ललितपुरको नख्खुखोला किनारमा बाढीले घेरेको ठाउँमा जस्ताकपाताको टहरामाथि बसेर पाँच जनाले चार घण्टासम्म उद्धारका लागि गुहार माग्दा पनि सरकारले ध्यान दिन नसकेको लामिछानेले बताए ।
उल्टै गृहमन्त्री रमेश लेखकले त्यस दिन भिजिबिलिटी कम भएकाले हेलिकप्टरबाट उद्धार गर्न नसकेको अभिव्यक्ति दिएको भन्दै उनले आक्रोश पोखे ।
१२ असोजको बिहान सिंहदरबारमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट बैठकपछि गृहमन्त्री लेखकले भिजिबिलिटीका कारण हेलिकप्टरमार्फत नख्खु खोलाले घेरेकालाई उद्धार गर्न नसकिएको बताएका थिए ।
उनले भनेका थिए, ‘नख्खु खोलामा केही मानिसहरु टहराको छतमा बसेको अवस्थामा कोशिस गर्दा–गर्दै पनि बचाउन सकेनौं ।हेलिकप्टरमार्फत् पनि उद्धार गर्न सकिएन । भिजिबिलिटीका कारण जोगाउन सकेनौं ।’