मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारका लागि १३ जनाको आवेदन

बुधबार, असोज १६, २०८१

१६ असोज, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)को रजिस्ट्रार पदका लागि १३ जनाको आवेदन परेको छ । रजिस्ट्रार नियुक्तिको लागि विश्वविद्यालयले गत भदौ ३० गते खुला दरखास्त आह्वान गरेको थियो ।

मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान रहेको छ । सिधै नाम सिफारिस गर्न मिल्ने भए पनि उपकुलपति प्रा डा. ध्रुव कुमार गौतमले भदौ ३० गते १० दिने सूचनामार्फत आवेदन मागेका थिए ।

तीन सदस्यीय रजिस्ट्रार सिफारिस समिति गठन गरिएको र सोही समितिले दिएका नाममध्येबाट एक जनालाई नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उपकुलपति गौतमले  बताए । उनका अनुसार समितिले आवेदकको भिजन पेपर, विषयगत विज्ञता र कार्यानुभवका आधारमा नाम सिफारिस गर्नेछ ।

नयाँ रजिस्ट्रारका लागि १३ जनाको दरखास्त परेको विश्वविद्यालयका उपकुलपति प्रा डा. ध्रुव कुमार गौतमले जानकारी दिए । उनले अबको एक महिनाभित्रै विश्वविद्यालयले नयाँ रजिस्ट्रार पाउने बताए ।

रजिस्ट्रारका लागि आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व निमित्त रजिस्ट्रार, पूर्व डिनदेखि सह–प्राध्यापक लगायतका छन् ।

पूर्वनिमित्त रजिस्ट्रार तथा शिक्षा शास्त्र संकायका हालका डिन याम बहादुर कार्की, पूर्व परीक्षा व्यवस्थापन प्रमुख, सह–प्राध्यापक आनन्द प्रसाद सुवेदी, व्यवस्थापन संकायका पूर्व सहायक डिन सह–प्राध्यापक अमृत कुमार गैरे र स्कुल अफ ल कार्यक्रम निर्देशक सह–प्राध्यापक अर्जुन बहादुर अयडीले आवेदन दिएका छन् ।

 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार