सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । काठमाडौं उपत्यकासहितका जिल्लामा वायुप्रदूषण ह्वात्तै बढेको छ । आज बिहान सवा आठ बजेको समयसम्म काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुर, भरतपुर र दाङको देउखुरीको वायु खराबस्तरमा पुगेको छ ।
सबैभन्दा बढी वायु प्रदूषण दाङ देउखुरीमा छ । बिहान सवा आठ बजेको समयमा त्यहाँको वायु गुणस्तर सूचक (एक्यूआई) १७७ पुगेको छ । यही समयमा बुधबार १२० एक्यूआई थियो ।
त्यसपछि भक्तपुरमा बुधबार ९२ एक्यूआई रहेकामा बिहीबार १६० र ललिपुरको खुमलटार क्षेत्रमा बुधबार १०४ एक्यूआई रहेकोमा बिहीबार १३४ पुगेको छ । चितवनको भरतपुरमा पनि आज वायुप्रदूषण छ । त्यहाँको एक्युआई १५६ छ ।
एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ । काठमाडौंका हाँडिगाउँ, महाराजगञ्जस्थित अमेरिकी दूतावास लगायत क्षेत्रमा पनि वायु प्रदूषण खराब स्तरमा पुगेको छ ।