जाजरकोट दुर्घटनाका ९ गम्भीर घाइतेलाई सुर्खेत ल्याइँदै

सोमबार, कात्तिक २६, २०८१

सुर्खेत । जाजरकोटमा भएका छुट्टाछुट्टै दुई वटा सवारी दुर्घटनामा गम्भीर घाइते भएका ९ जनालाई थप उपचारका लागि सुर्खेत ल्याइने भएको छ ।

सोमबार दिउँसो भएको दुई सवारी दुर्घटनामा गम्भीर घाइते भएका ९ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याउन लागिएको हो ।

जिल्लाको भेरी नगरपालिका–१३ कदुमा भएको माइक्रोबस दुर्घटनामा २५ जना घाइते भएका छन् भने जिल्लाकै नलगाड नगरपालिकास्थित बाउसेखोलामा भएको दुर्घटनामा ७ जना घाइते भएका थिए ।

दुईवटा सवारी दुर्घटनामा परी ३२ जना घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

‘भेरीका ७ र नलगाड दुर्घटनाका २ जना गम्भीर घाइते भएका छन्’, डीएसपी पाण्डेले भने, ‘उहाँहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाउने तयारी भइरहेको छ ।’

उनका अनुसार अन्य सामान्य घाइते भएको उनीहरूको उपचार जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । अनलाइनखबर

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार