सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । नलगाड नगरपालिकाकी उप प्रमुख देबका लामिछानेले बुधबार राती सवारी दुर्घटनामा परि घाइते भएकालाई भेटेकी छन । नगर अस्पताल दल्लीमा उपचारत घाइते जनक थापालाई भेटेर नगर उपप्रमुख लामिछानेले स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन । दुर्घटनामा बर्दिया घर भई जाजरकोटको नलगाड नगरपालिका–३ करुवा दिदीको घरमा बस्ने अन्दाजी १९ वर्षीय जनक थापा घाइते भएका छन् ।
उनको टाउको र अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको नगर अस्पताल दल्लीमै अहिले उपचार भइरहेको छ । यस्तै, अर्का घाइते नलगाड नगरपालिका–७ बस्ने २१ वर्षीय जिवन बिक नगर अस्पताल दल्लीमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
यसैबीच नलगाड नगरपालिका जाजरकोटले आज पालिका भरी विदा दिएको छ । नलगाड नगरपालिका–३ बिरखोला कैना–कट्के सडक खण्डमा डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो । सातजना सवार रहेको जिप मध्यराति सडकबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी ३२ वर्षीय इन्द्रजित थापा (जिप चालक), अन्दाजी ६५ वर्षीया शिला पुन, अन्दाजी ३३ वर्षीया सारदा थापा, अन्दाजी १८ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको हो ।
प्रहरीले एक्कासी ब्रेक फेल हुँदा जिप दुर्घटनामा परेको अनुमान गरेको छ । जिप सडक बाट अन्दाजी ७ सयदेखि ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।