इट्टा उद्योगमा पनि सिन्डीकेट, उद्योग बन्द गर्न उद्योग कार्यालयकै पत्र

आइतबार, पुस १४, २०८१

तुलसीपुर । औद्योगिक व्यवसाय ऐन २०७६ को प्रस्तावनामा मुलुकमा औद्योगिक वातावरणलाई लगानीमैत्री तथा प्रतिस्पर्धी बनाई रोजगारीका अवसरमा अभिवृद्धि गर्न उपलब्ध स्रोत साधनको अधिकतम परिचालन, उत्पादन गरी अर्थतन्त्र निर्माणमा जोड दिने भनिएको छ ।  तर  दाङमा त्यसको ठिक विपरित कार्य गरिएको पाइएको छ । कानुनको छिद्र प्रयोग गरेर घरेलु तथा साना उद्योग कार्यालय दाङले सञ्चालनमा रहेको जय श्री हनुमान चिम्नी इट्टा उद्योगलाई बन्द गर्न परिपत्र गरेपछि यसको रहस्य बाहिर आएको हो ।

घरेलु तथा साना उद्योग कार्यालयले जय श्री हनुमान फिक्स चिम्नी इट्टा उद्योगलाई मिति २०८१/९/२ गते काटेको पत्र अनुसार उद्योगमा इट्टा पोल्ने कार्य भइरहेकाले उक्त कार्य तत्काल बन्द गरी कार्यालयलाई जानकारी गराउन भनिएको छ । वातावरण प्रदूषण र कामदारको स्वास्थ्यलाई ख्याल गर्दै प्रत्येक वर्षको पुष मसान्तपछि मात्रै इट्टा पोल्ने कार्य सुरु गर्ने उद्योग विभागको निर्णयलाई टेकेर उद्योगले पत्र काटेको हो ।  यता जय श्री हनुमान फिक्स चिम्नी इट्टा उद्योगले, दाङ देउखुरी इट्टा व्यवसायी संघको दबाबमा घरेलुले उद्योग बन्द गराउन पत्राचार गरेको बताएको छ । उत्पादनमा रोक लगाएर इट्टाको अभाव सृजना गरि प्रति इट्टाको मूल्य  १६ रुपैयाँसम्म पुऱ्याउनका लागि  संघले कुटिल चाल खेलेको हनुमान इट्टा उद्योगका सञ्चालक गणेश घर्ती मगरले बताउनुभयो ।

‘हाम्रो उद्योगमा इट्टा पार्ने माटो मेसिनले पेल्छ । अमेरिकन कोइलाबाट पोलेर इट्टा उत्पादन गरिन्छ । जसका कारण इटटाको माग दिनहुँ बढ्दो छ । दाउरा प्रयाेग गरेर  बनाएका कमसल इट्टाको खपत कम छ । इट्टाको साइज, गुणस्तर र फिनिसीङको दृष्टिकोणले हनुमान इट्टा उद्योगसंग प्रतिस्पर्धा गर्न नसकेपछि संघ हाम्रो उद्योग बन्द गराउन सारा शक्ति प्रयोग गर्नमा लागेको छ ।’ सञ्चालक घर्ती मगरले भन्नुभयो । नेपाल सरकारले बनाएको मापदण्ड अनुसार दाङमा संचालनमा आएको जिकज्याक प्रविधिको वातावरणमैत्री चिम्नी उद्योग, जय श्री हनुमान इट्टा उद्योग मात्र रहेको उद्योगले दाबी गरेको छ ।

अमेरिकन काेइलाबाट इट्टामा आगाेलगाउँदै 

पुराना र स्टक इट्टालाई महँगो मूल्यमा बिक्री गराउनका लागि भक्तपुर, काठमाण्डौ र चितवनमा  बनाएको मापदण्डलाई  संघले दाङमा प्रदुषणका नाममा आफु अनुकल प्रयोग गर्न खोजेको पुनले बताउनुभयो ।  इट्टा उत्पादनमा प्रयोग भएको मेसिन, वातावरणमैत्री जीकज्याक एडभान्स उच्च प्रविधिको भएको हनुमान इट्टा उद्योगले दाबी गरेको छ । यो प्रविधि नेपालमा गणना गर्दा २/३ नम्बरमा पर्ने बताउँदै सञ्चालक पुनले वातावरणमैत्री भए नभएको विषयमा वातावरण विदलाई लिएर  परीक्षण गर्न चुनौति दिनुभएको छ । उद्योगमा करिब ३ सयजनाले रोजगार पाएका छन् ।

के भन्छ दाङ देउखुरी इट्टा व्यवसायी संघ ?
यता दाङ देउखुरी इट्टा व्यवसायी संघले कानुन विपरित जाने छुट कसैलाई नभएको बताएको छ । वातावरणीय हिसाबले मंसिरमा इट्टा उद्योगमा आगो लगाउँदा प्रतिकुल हुने भएकाले त्यसको बिरोध गर्दा आफ्ना इट्टा महँगो मूल्यमा बिक्री गर्न षडयन्त्र गरेको भन्ने आरोप लागेको महासंघका अध्यक्ष रोम वलीले बताउनुभयो ।  ‘दाङमा बिक्री गर्न करिब ४ करोड इट्टा बाँकी छन् ।

‘अहिले पनि जिल्ला दररेट १४ रुपैयाँ छ । पाँच वर्ष अघि १५ रुपैयाँमा बेचेको इट्टा हामीले अहिले १३ रुपैयाँमा बिक्री गरीरहेका छौ । तर इट्टाको मूल्य बढाउन उत्पादनमा रोक लगाउन खोजेको होइन । कानुनको पालना गरौं भन्ने हो ।’ अध्यक्ष वलीले भन्नुभयो ।   दाङमा ४२ वटा इट्टा उद्योग छन् । कोइला प्रयोग  गर्ने भनिए पनि अधिकाँसले उद्योगले दाउरा प्रयोग गरेर इट्टा उत्पादन गर्ने गरेका छन् । 

उद्योग बन्द गर्ने होइन चलाउनुपर्छ : महासंघका अध्यक्ष केसी 
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले उद्योगहरुलाई निर्वाध रुपमा संचालन हुने वातावरण सृजना गर्न सरकारसंग माग गरेको छ । तुलसीपुर–१८ मा रहेको हनुमान इट्टा उद्योगको अनुगमण गर्दै महासंघका अध्यक्ष लालबहादुर केसीले संगठनका नाममा सम्बन्धित निकायलाई दबाब सृजना गरेर उद्योग बन्द गराउन खोज्नु सकारात्मक पक्ष नभएको बताउनुभयो ।

हनुमान इट्टा उद्योगको अनुगमण गर्दै

‘राज्यले चाहयो भने उद्योग बन्द गराउन सक्छ यो कुरा सत्य हो ।  तर बन्द गराउन खोज्नुको पछाडीको कारण के छ ? निर्वाद रुपमा उद्योग धन्दा, कलकाराखाना संचालन गर्नु पाउनुपर्छ भन्दै पैरबी गर्नुपर्ने ठाउँमा उल्टै सञ्चालनमा आएका उद्योगलाई दाङ देउखुरी  इट्टा व्यवसायी महासंघ किन बन्द गर्नुपर्छ भन्दै हिड्छ ? आश्चर्यजनक कुरा हो ।’ अध्यक्ष केसीले भन्नुभयो । 

राज्यले उद्योगसम्म पुग्नका लागि सडक, विद्युत, पानीको व्यवस्था गरेर उद्योगहरुलाई प्रवद्र्धन गर्नुको साटो वातावरणमैत्री ढंगले सञ्चालनमा रहेका उद्योगलाई कानुनी छिद्र प्रयोग गरेर बन्द गर्न खोज्नु राज्यका कतिपय निकाय प्रभाव छन भन्ने कुरा प्रष्ट भएको महासङ्घले टिप्पणी गरेको छ । यता घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सन्तोष सुवेदीसंग वास्तविकता  बुझ्नका लागि ९८५७८६३३६९ नम्बरमा सम्पर्क गर्न खोज्दा उहाँको मोबाइल स्वीच अफ भएका कारण कुरा हुन सकेन् । तुलसीपुर खबर 

 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार