नेकपा बहुमतको राष्ट्रिय महाधिवेशन आजदेखि
काठमाडौँ । नेकपा बहुमतको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । उद्घाटन सत्र राष्ट्रिय नाचघर जमलमा मध्यान्ह १२ बजे हुनेछ । बन्दसत्र टियुको अडिटोरियम हलमा भोलिदेखि १० गतेसम्म हुने नेता गुणराज लोहनीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमको उद्घाटन जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलका बुवा सेते रम्तेल र ईश्वरी दाहाल असारे काकाले संयुक्त रूपमा गर्नेछन् । बन्दसत्रमा संयोजक धर्मेन्द्र बस्तोलाले वैज्ञानिक समाजवादी आन्दोलनको कार्यदिशा र स्वाधीन सरकारको कार्यनीति सम्बन्धी राजनीतिक दस्ताबेज पेस गर्ने लोहनीले जानकारी दिए ।
महाधिवेशनमा ७७ जिल्लाबाट ४५० प्रतिनिधि र सय जना पर्यवेक्षक सहभागी हुने उनले बताए । नेतृत्व छनोट प्रक्रिया प्रत्यक्ष मतदानबाट केन्द्रीय समिति चयन हुनेछ । केन्द्रीय समितिले पदाधिकारी छनोट गर्नेछ । हाल ९५ जना केन्द्रीय समिति सदस्य रहेकोमा महाधिवेशनले ६५ जनाको बनाउन सक्ने लोहनीले बताए ।