आज लुम्बिनी प्रदेश सभाको बैठक

आइतबार, माघ ६, २०८१

बाँके । लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्ने भएको छ । पाँचौँ अधिवेशनको तेस्रो बैठक आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । यसअघि प्रदेश सभाको दोस्रो बैठक पुस १७ गते बसेको थियो ।

दोस्रो बैठकले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सन्देशसहित फिर्ता पठाएका प्रदेश निजामती कर्मचारीसम्बन्धी प्रदेश निजामती सेवा ऐन, (२०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित गरेको थियो ।

पारित दुवै विधेयक सभामुख तुलाराम घर्तीले प्रमाणित गरेर पुनः पुस १९ गते नै प्रदेश प्रमुखसमक्ष पठाउनुभएको थियो । प्रदेश प्रमुख घर्तीले पुस २७ र २८ गते प्रमाणीकरण गरेपछि प्रदेश सभाको तेस्रो बैठक बस्न थालेको हो ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्