महान शहीदहरूले देशका लागि दिएको योगदान महत्त्वपूर्ण: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुने बताएका छन् ।
राष्ट्रिय शहीद दिवसको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि संघर्ष गरेर बलिदान दिएका महान शहीदहरूले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको बताए ।
प्रधानमन्त्री ओलीले शहीदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको बताए ।
उनले यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरू लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शृङ्खला अन्त्य भएको बताए ।
उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए ।