रविको निलम्बनबारे पुनः मूल्यांकन गरियोस् : प्रचण्ड

निलम्बन कति संवैधानिक कति न्यायपूर्ण छ ?
बिहीबार, माघ २४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गरिएको निलम्बनबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले सरकारले रविमाथि प्रतिशोध लिनेगरी देशभर दौडाइरहेको जिकिर गरे । ‘म सम्माननीय सभामुखलाई पनि निवेदन गर्न चाहन्छु, अदालतले धरौटीमा छाडेपछि पनि संसद्‍बाट रवि लामिछानेको निलम्बन कति संवैधानिक कति न्यायपूर्ण छ ? यसको पुनः मूल्यांकन गरियोस्,’ उनले भने ।

उनले अहिले सरकार प्रतिशोध साँध्ने कुरामा बलियो देखिएको, न्यायपालिकालाई नै धम्क्याएर फसाइ छाड्ने कसरतमा रहेको जिकिर गरे ।  ‘सरकार आजभोलि बलियो त्यतातिर देखिँदैछ, जब प्रतिशोध लिनुपर्‍यो भने निकै बलियो देखिन्छ । राजनीतिक प्रतिशोधको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ,’ प्रचण्डले भने, ‘सहकारीबाट पैसा ल्याउन कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रूपमा देशभरि दौडाइँदैछ । हिजो उहाँलाई अफर गरेकाहरू आज न्यायपालिकालाई धम्क्याएर भए पनि फसाइ छाड्ने कसरतमा हुनुहुन्छ ।’

उनले सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने र सांसद् पद निलम्बन भइहाल्ने हो भने भोलि कति दुरुपयोग होला ? भन्दै प्रश्न गरे ।

‘राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धिकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन भइहाल्ने हो भने भोलि त्यसको दुरुपयोग होला । अहिले प्रतिशोध लिँदा त मज्जै लागेको होला । भोलि आफैंमाथि यही लागू भयो भने के होला ?,’ प्रचण्डले भने ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्