केन्द्रीय समिति बैठक

माओवादी केन्द्रीय समिति बैठक आज, झण्डै ८ सय सहभागी हुने

आइतबार, माघ २८, २०८०

माघ २८,काठमाडौँ  । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ। शुक्रबार र शनिबार स्थायी समिति बैठक गरेको माओवादीले आज केन्द्रीय समिति बैठक गर्न लागेको हो।बिहान ११ बजेदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बस्ने बैठकमा माओवादी केन्द्रका ४ सय नौ केन्द्रीय सदस्यसहित ८ सयजना बढीको उपस्थिति रहनेछ। केन्द्रीय समिति बैठक आज (आइतबार) र भोलि (सोमबार) दुई दिन बस्ने नेता प्रल्हाद बुढाथोकीले जानकारी दिए।

माओवादीको हाल केन्द्रीय समिति संख्या ४ सय ९ छ। वैकल्पिक केन्द्रीय समिति संख्या १ सय ९० छ।  त्यसैगरी केन्द्रीय समिति बैठकमा प्रदेशका पदाधिकारीलाई समेत सहभागी गराउने निर्णय भएको छ। सबै प्रदेशका कूल पदाधिकारी ९४ छन्। माओवादीले १० प्रदेशको अभ्यास गरिरहेको छ। 

यसैगरी माओवादी केन्द्रको केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखापरीक्षण समिति र केन्द्रीय निर्वाचन समिति गरी तीनवटा आयोग छन्।यी आयोगमा ७५ सदस्य छन्। सबैलाई समेट्दा झण्डै ८ सयको हाराहारी संख्या बैठकमा सहभागी हुने अनुमान छ। बैठकमा विधान सम्मेलनका लागि विधानमाथि केन्द्रीय सदस्यहरुले सुझाव राख्न पाउने छन्।

यसअघि गत साउन १७ देखि २१ गतेसम्म काठमाडैंकै प्रज्ञा प्रतिष्ठानमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो। प्रचण्ड अध्यक्ष चुनिएपछि माओवादीको पाँचौ केन्द्रीय समिति बैठक बस्न लागेको हो।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्